काठमाडौँ, २५ मंसिर । सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले सोधेका प्रश्न र जिज्ञासाको खास जवाफ नदिइकन नै पत्र पठाएका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको महाभियोग निष्प्रभावी भएको पत्र लेखेको विषयमा सर्वोच्च अदालतले चार वटा प्रश्नको जवाफ माग गरेर पत्र पठाएको थियो । तर आज महासचिव पौडेलले सर्वोच्चलाई पत्र पठाएर जिज्ञासाको जवाफ आफूले इजलासमै दिने उल्लेख गरेका छन् ।
पूर्ण इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले बहसका क्रममा इजलासमै प्रशासनको पत्रको जवाफ पनि दिने गौतमले उल्लेख गरेका छन् ।
महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रश्मशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चलाई पत्र पठाएपछि रिट दर्ता भएको थियो । रिटको सुनुवाइ गर्दै संवैधानिक इजलासले पत्रको तत्काल कार्यन्वयन नगर्न भन्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।
संसद् सचिवालयका महासचिव पौडेलले जबरामाथि महाअभियोगको प्रस्ताव ल्याउने संसद्को कार्यकाल नै सकिएको अवस्थामा महाअभियोग निष्प्रभावी भएको तर्क गर्दै राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतलाई पत्र पठाएका थिए ।
पौडेलको पत्रसँगै जबरा सर्वोच्च प्रवेश गर्न खोजे पनि प्रयास सफल भएन । सरकार र संविधानविद्ले भने जबराको महाअभियोगको प्रस्ताव अहिले पनि कायमै रहेकाले नयाँ संसद्ले यसलाई ग्रहण गरेर अघि बढाउने जनाएका छन् ।








