झापा, २६ माघ । विर्तामोड ३ मा रहेको अनारमनी दुर्गा स्थान गुठीको जग्गा संरक्षणमा लाग्ने सम्वन्धित सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोग २०७६ ले आज चन्द्रगढीमा आयोजना गरेको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा अनारमनी दुर्गा स्थान गुठीको जग्गा संरक्षणमा लाग्ने सरोकारवालाले बताएका हुन् ।
‘हामीले बचाउन खोज्यौं, तर माफियाले सर्वोच्च अदालतसम्म गएर आफ्नो नाममा बनाउने प्रयास गरिरहेका छन्, हामी जोगाएरै छाड्छौं’, विर्तामोडका नगर प्रमुख धुब्र शिवाकोटीले भने, ‘सर्वोच्च अदालतले पनि सिरक ओडेर फैसला गरेको छ, त्यो कार्यान्वयन गर्न दिँदैनौं ।’
विर्तामोडको ३ नम्वर वडामा रहेको १२ विगाहाभन्दा बढी जग्गालाई हडप्न माफियाले चलखेल गरेका छन् । सो विषयमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धि जाँचबुझ आयोगमा उजुरी समेत परेको छ ।
‘विर्तामोडको डोमालाल रंगशालाको जग्गा केही मान्छेका नाममा गरिदिनु भनेर सर्वोच्चबाट ४ पटक तागेता पत्र आइसकेको छ’, मालपोत कार्यालय झापाका प्रमुख जनार्दन भट्टराईले भने, ‘हामीले व्यक्तिका नाममा गरेका छैनौं र गर्दैनौं पनि ।’
उनले विर्तामोडको हाइवेमा रहेको कृषि सामग्री संस्थानको ३ विगाहा जग्गा पनि व्यक्तिको नाममा सार्न केही मान्छे लागेको उल्लेख गर्दै नामसारी हुन नसक्ने फैसला गरेको जानकारी दिए ।
नापी कार्यालय झापाका प्रमुख विरेन्द्र पौडेलले आफ्नो कार्यालयले सरकारी, सार्वजनिक र गुठी जग्गाको अभिलेख तयार गरिरहेको जानकारी दिए ।
पूर्व न्यायाधीश तथा आयोगका अध्यक्ष मोहनरमण भट्टराईले सर्वोच्च अदालतले फैसला गरेको भए पनि त्यो अदालतमा जस्तो प्रमाण पुग्नु पर्नेमा त्यो नपुगेर भएको हुनसक्ने भन्दै ‘सार्वजनिक सरोकारको विषय’मा जोसुकै सरोकारवालाले मुद्दा हाल्न सक्ने जानकारी दिए ।
आयोगले अनुसन्धानको काम गरिरहेकाले झापाको अनारमनी दुर्गा स्थानको जग्गाका विषयमा थप भन्न नमिल्ने उनले बताए । अध्यक्ष भट्टराईले थपे, ‘वेरितका प्रमाणबाट भएको दर्तालाई खारेज गर्न सिफारिस गर्छौं, काम कार्वाही गोप्य राखेर काम भइरहेको छ । कार्यक्रममा झापाका स्थानीय तहका प्रमुख र कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।