Logo

सवारी दुर्घटनाः गम्भीरता खोई ?



प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार १ श्रावण २०७२ देखि ३१ असार २०७३ सम्ममा देशभर १० हजार १३ दुर्घटना भएकोमा ४ हजार ८ सय ८२ जना गम्भीर घाईते तथा ८ हजार २ सय २६ सामान्य घाईते भएका छन् । यो औपचारीक तथंक भन्दा मृत्यु हुनेको संख्या सधै बढी नै हुन्छ । किनकी कतिपय घाईतकोे केही अवधी बांचेर घाईते भएकै समस्याले मृत्यु भएको छ । नेपाल जस्तो भौगोलिक विकटता र उजुरी प्रकृयाको संस्कृति भरखरै बस्दै गरेको मूलुकमा सबै दुर्घटना प्रहरी सामु नपुगेका हुन सक्छन् । कतिपय दुर्घटना प्रहरी समक्ष नपुगी आपसी समझदारीमा पनि टुंगो लागेका हुन्छन् । सवारी चालक अनुमती पत्र छैन भन्ने वा आपसमा चिनेजानेका बिच ठोकिएको अवस्थामा समझदारीमा पीडितलाई राहत र उपचार दिलाई प्रहरीमा उजुरी नगरीकनै मिलाईन्छ । अर्थात जति तथ्यांक प्रहरीबाट आउछ त्यो भन्दा दुर्घटना धेरै भएको हुनेगर्छ ।
यही श्रावणको अन्तिम हप्ता आम सन्चारको माध्यममा बस दुर्घटना दुखद समाचारको रुपमा प्रकाशन तथा प्रशारण भए । सन्चारमाध्यममा दुर्घटनाका तस्विर, वेदना आएसंगै चोक चोक , चिया पसलमा पनि सवारी दुर्घटनाका बारेमा छलफल चले । फेसबुक , ट्वीटर आदि सामाजिक संजालमा मानविय संवेदनाका भाव, दुर्घटनाका कारण , दोषी पक्ष , दोषीलाई कारवाही गर्ने जस्ता कुरा निकै चर्चामा आए ।
बस दुर्घटना भए लगतैको चर्चामा गृहमन्त्री , प्रधानमन्त्री, यातायात मन्त्री पनि भावुक भएको अनुहार लिएर प्रकट भए । नेताहरु अस्पतालमा घाईतेहरु लाई भेट्न गए । एक जना महिला आफू घाईते भएर पनि अरुको उद्धारमा सकृय भएको भनेर उनको प्रसंसा गरियो । दुर्घटना हुन नदिनका लागि प्रशासन कडा हुने कुरा आयो । बस व्यवसायीले पनि आफ्नो तर्फबाट सुधार गर्नुपर्ने कुरामा पहल गर्ने प्रतिवद्धता गरे ।
अर्को यस्तै दुर्घटनाबाट दर्जनौको र्मत्यु नभएसम्मका लागि यो मन्थन अहिले सेलाएको छ । केहि दिनमा अर्को ठूलो दुर्घटना हुन्छ , त्यसपछि फेरी सबै गम्भीर भएर जुरुक्क उठ्नेछन् । हप्ता दिन फ गरिन्छ र गफमा नै धेरै कुरा सिमित हुन्छ । हप्ता दिन प्रहरी प्रशासनले सवारी साधनमा उभिएर , झुण्डीयर यात्रा गर्नेलाई निषेध गर्छ । चालक अनुमती पत्रको कडा चेकजांच गर्छ । यात्रु पनि भीडभाड भएको सार्वजनिक सवारीमा यात्रा गर्न डराउलान । सवारी चालकले गाडी चलाउनु अघी गाडीको अवस्था राम्ररी चेकजांच गर्लान । तर हप्ता दिनमा सबैले यी सबै होसियारीहरु विर्षन्छन् । पहिले जस्तै जस्लाई जे सजिलो हुन्छ त्यही गर्न थाल्छन् । अर्को भयानक दुर्घटना हुन्छ , अनी फेरी भावुक चर्चा अर्को हप्ता सम्म चल्दछ । बर्षौदेखि उही क्रम चलेको आजसम्म जारी छ ।
प्रहरी प्रधान कार्यालयले सत्तरी प्रतिशत भन्दा धेरै दुर्घटना चालकको लापरवाहीले हुने गरेको तर्क गरेको छ । प्रहरी कार्यालयले गरेको यो विष्लेषण अध्ययन गरेरै अघी सारेको हुनुपर्छ ।  तर सडकको अवस्थालाई हेर्दा चालकको लापरवाही र भत्केको र जोखीमपूर्ण भुगोलका सडक पनि अति नै जिम्मेवार छन् । सवारी चालकलाई तालिम बडाएर जिम्मेवार बनाएर मात्र के गर्ने ? जब सडक यस्तै अव्यवस्थीत , भत्केको र अबैज्ञानिक हुन्छन भने ।
धरै टाढाको उदाहरण दिनै परेन । झापा जिल्लाको सदरमुकाम जोड्ने सडकमा हिड्नेहरुले यो सडकको अवस्था सम्झे हुन्छ । विर्तामोड देखि भद्रपुर सम्मको सडककमा विर्ताबजार छेउ पुग्दा खोला तरेको अनुभव धेरैलाई होला । चन्द्रगडी नपुग्दै बर्षायाममा कालोपत्रे बजार सडक भत्केको अवस्थामा सवारी साधन घिसारेको अनुभव म आफैलाई छ । चन्द्रगडीदेखि भद्रपुर सम्मको सडक त कुनै गाउँ क्षेत्रमा बनाउदा बनाउदै ठेकेदारले विचैमा छोडेजस्तो लाग्छ । झापा जस्तो विकाशमा अघी बढेको जिल्ललाको सदमुकाम जोड्ने सडकको अवस्था नाजुक ट भने यस जिल्लाका ग्रामीण सडक कस्ता होलान ? नेपाल जस्तो भौगोलिक रुपमा विकट मूलुकका अन्य जिल्लाका सडक अवस्था कस्ता होलान सहजै अनुमान गर्न सकिन्छ ।
नेपालका सडकमा सवारी साधनलाई मात्र ध्यान दिने गरिएको छ । राजधानी र अन्य केहि ठूला शहरका केन्द्रभागका सडकमा यात्रुलाई हिड्ने भाग सुरक्षीत रुपमा छुट्याउन थालिएको छ । आकाशे पुल , जेब्रा क्रसीङ को व्यवस्था गरिएको छ । तर अन्यत्रका सडकमा पैदल यात्रीलाई स्पष्ट बाटो छुट्याईएको छैन । साँघुरो सडकमा कहिले काँही पैदल यात्रीलाई जोगाउन खोज्दा पनि दुर्घटना भएका छन् । पाहाडी क्षेत्रमा रहेका साँघुरा सडकमा ठूला सवारी साधन क्रस हुदा भिरबाट खस्ने गरेका पनि हुन्छन् । यसमा चालक सतर्क त हुनैपर्छ तर सगसंगै सडकलाई पनि केही फरकीलो बनाउने , भिरबाट खस्नबाट जोगाउने साना बार बनाउने जस्ता उपायहरुले पनि सडक दुर्घटना न्यून गर्न केही सहयोग गर्छ ।
पाहाडी क्षेत्रमा सानो आकारका सवारी साधन चलाउन प्ररीत गर्नका लागि यस क्षेत्रमा चल्ने सवारी साधनलाई विभिन्न प्रकारका करमा छुट हुने व्यवस्थ ागर्न सकिन्छ । एउटाले अर्कोलाई दोष देखाएर मात्र सडक दुर्घटना कम हुने होईन । सवारी चालकलाई कारवाही मात्र नगरेर असल कामको लागी प्रोत्साहीत गर्ने परिपाटी पनि तयार गरिनुपर्छ । प्रहरी प्रशासन , सवारी चालक, बस व्यवसायीको सहकार्यमा कमजोरी सुधार गर्ने संयूक्त प्रयास हुनुपर्छ ।  एक अर्कालाई छलेर जान खोज्ने , सवारी चलाउदा एउटाले अर्कोलाई विपक्षी जस्तो ठानी प्रतिष्पर्धा गर्ने कुरामा सुधार ल्याउनुपर्छ ।
यि बाहेक सबैभन्दा महत्वपूर्ण कुरा सडक व्यवस्थामा सुधार नै हो । सडक साँघुरो , भत्केको, जोखीमपूर्ण छ भने दुर्घटना हुनबाट जोगाउन अन्य कुरामा हुने होशियारीले मात्र पुग्दैन । सार्वजनिक सवारीका यात्रुले पनि आफ्नो विवेक प्रयोग गरेर कस्तो सवारी साधनमा यात्रा गर्ने , भीड छ भने चड्ने की नचड्ने भनेर चनाखो हुनुपर्छ । पुराना भईसकेका जीर्ण सार्वजनिक सवारी साधनहरुलाई हटाउनमा लागि सम्बन्धीत पक्ष सक्रिय हुन पनि उत्तिकै जरुरी छ । ग्रामीण क्षेत्रमा चल्ने अधिकांश सार्वजनिक सवारीहरु अत्यन्त जीर्ण भईसकेको अवस्थामा छन् । यसतर्फ सर्वसाधारण सचेत नै भएपनि अर्को विकल्प नभएका कारण यस्ता सवारीमा चड्न बाध्य हुनुपर्छ । १ दिनमा २ वटा मात्र सवारी चल्ने ग्रामीण क्षेत्रमा सर्वसाधारणहरु कोचाकोच गरेरै भएपनि गन्तव्य सम्म जान बाध्य हुन्छन् । यस्तोमा दुर्घटनाको प्रबल संभावना रहन्छ । त्यसैले यस्ता विषयहरुप्रति सम्बन्धीत निकायले नै सक्रिय पहल गर्नु जरुरी हुन्छ । साथसाथै यात्रुहरु पनि जागरुक, सचेत र जिम्मेवार बनेमा दुर्घटना हुनबाट बच्न धेरै सहयोग मिल्छ ।
 

 

प्रतिक्रिया दिनुहोस्