काठमाडौं, ३ कात्तिक । सरकारले सवारी चालक अनुमतिपत्र र ट्राफिक जरिवाना भुक्तानी प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत यस नयाँ व्यवस्थाबारे जानकारी दिनुभएको हो ।
नयाँ व्यवस्था अनुसार सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक पर्ने छैन अर्थात यसको साटो नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुनेछ । यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
यसैगरी, सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित स्थानमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ । यसले सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
यो नयाँ व्यवस्था भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा सुरु हुनेछ । सरकारले नागरिक एपमा अन्य सेवाहरू पनि थप्ने तयारी गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ ।’
यो नयाँ डिजिटल प्रणालीले सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।