काठमाडौँ, ११ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुने बताएकी छन् ।
सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको गोष्ठीमा उनले सार्वजनिक सरोकारका विषयमा जति बढी जानकारी प्राप्त हुन्छ त्यती बढी जनता सशक्त हुने बताएकी हुन् ।
मन्त्री शर्माले भन्नि, “सशक्त र सचेत नागरिकको खबरदारीले मात्र लोकतन्त्र बलियो हुन्छ । यसले सार्वजनिक सरोकारका सबै विषयमा जनताको पहुँच पु¥याउन सहयोग गर्छ ।” सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउनु आजको आवश्यकता रहेकामा उनको जोड थियो ।
सूचनाको हकलाई संविधानमा मौलिक हककारुपमा व्यवस्था गरिएको र यसको कार्यान्वयनका लागि सूचनाको हकसम्बन्धी ऐन रहेको जानकारी गराउँदै मन्त्री शर्माले ऐनको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो भन्नि ।
“अनलाइन स्पेसको वृद्धिसँगै एकातिर सूचना सङ्कलन, भण्डारण र प्रवाहमा सहजता आएको छ भने अर्कातिर सूचना प्रविधिको प्रणालीमाथिको अनाधिकृत पहुँच दुरुपयोगको समस्याका कारण सूचनाको सुरक्षामा चुनौती थपिएको छ”, मन्त्री शर्माले भन्नि । यसका लागि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरेको उनले उल्लेख गरेकी हुन् ।







