Logo

ससुरालीमा चार जनाको हत्या गरेका ज्वाइँको अवस्था गम्भीर



भोजपुर, २२ असार । भोजपुरको रामप्रसादराई गाउँपालिका २ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासुससुरासहित चार जनाको हत्या गरेका छन्। राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ।

पारिवारिक झगडाले हिंसाको रुप लिँदा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, मञ्जुका छोरी (राजेन्द्र राईकी श्रीमती) र सालोले ज्यान गुमाएका छन्। घटनामा राजेन्द्र राईले नै आफूले नै चारै जनालाई चक्कु प्रहार गरी मारेको प्रहरीलाई बताएका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरकाका अनुसार राजेन्द्र आफैंले फोन गरेर प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनाबारे जानकारी पाएको होे। त्यसपछि परिचालित भएको प्रहरीको टोलीले राजेन्द्रलाई रामप्रसादराई १ हुर्बु भञ्ज्याङस्थित सडक किनारमै पेटमा तीन ठाउँमा चक्कु लागेर घाइते अवस्थामा फेला पारेको छ।

त्यहाँका वडा अध्यक्ष राजकुमार तामाङले आफू घटनास्थलमै रहेको बताएका छन्। ‘उनले भने, यहाँ चार जनाकै शवका बारेमा प्रकृया पुर्याइरहेका छौं। प्रशासनले अनुसन्धान गरिरहेको छ।’

राजेन्द्रले अरुको हत्या गरेर आफुले पनि आफैंलाई छुरा प्रहार गरेको प्रारम्भिक अनुमान प्रहरीको छ। घाइते अवस्थामै राजेन्द्रले दिएको प्रारम्भिक बयान अनुसार, सासु मञ्जु गिरीले आफूलाई चक्कु प्रहार गरेपछि प्रतिकारमा उनले ससुरा, सासु, श्रीमती र सालोलाई प्रहार गरेका हुन्।

घाइते अबस्थामा रहेका राजेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटना पारिवारिक झगडापछि निम्तिएको हुने अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईको पेटमा गहिरो चोट लागेको छ र उनको अवस्था गम्भीर छ। प्रारम्भिक उपचार भोजपुर अस्पतालमा गरिएको भए पनि अवस्था जटिल भएकाले उनलाई थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ। वडा नम्बर २ का वडा सदस्य जीवन जर्गा मगरका अनुसार राई करिब एक सातादेखि ससुरालीमै बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्