Logo

जीबी राई सहित १८ जनालाई स्वदेश फर्काउन संसदीय समितिको निर्देशन



काठमाडौं, १४ साउन । सहकारी संसदीय छानबिन समितिले सहकारी ठगी गरेर विदेशमा रहेकालाई स्वदेश फर्काउन आदेश दिएको छ ।

आज बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गर्दे फरार रहेका १८ जनालाई पक्राउ गर्न र स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो।
समितिले अपचलनमा संलग्न आरोपी रहेका जीबी राई, सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसी नेपाल झिकाउन समितिले निर्देश दिएको हो ।

त्यसैगरी, सुमेरु सहकारीको रकम अपचलनमा संलग्न भरत महर्जन, माजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनलाई समेत सम्पर्कमा ल्याउन भनिएको छ । साथै, शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र छेदा नेपाली, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई स्वदेश फर्काउन निर्देशन दिएको हो ।

समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्