Logo

सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ



काठमाडौँ, १८ जेठ । नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका-९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका-७ का ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनले उक्त संस्थाका बचत कर्ताबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप सङ्कलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्