Logo

सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा पक्राउ



झापा, ११ कात्तिक ।  सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्। सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो।

बचतकर्ता र शेयर सदस्यको झन्डै डेढ करोड रुपियाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपियाँ ठगी गरेको देखिएको  छ। पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन्।

कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताउनुभयो। प्रदेश रजिस्ट्रार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताउनुभएको छ। पक्राउ गरिएका खनाल हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका छन्। उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक  चन्दले बताउनुभयो ।

सहकारीमा रकम फिर्ता नपाएपछि पीडितले  शिवसताक्षी नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए। सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो। भदौको तेस्रो साता खनालविरुद्ध उजुरी परेको थियो।

उक्त सहकारीको स्थापना कालदेखिकै अध्यक्ष रहनुभएका खनालले आर्थिक वर्ष २०७८/०७९ मा ७० हजार शेयर रकम हिनामिना गरेको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ। सोही प्रतिवेदन अनुसार खनालले विनाभौचर नै बचतकर्ताको रकम दुई लाख ६ हजार ८६८ रुपियाँ निकालेको पाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्