Logo

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान



काठमाडौँ, ६ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना भनाइ राख्नेक्रममा उहाँले सदनलाई मर्यादित रुपमा अगाडि बढाउन सबै दलहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “सदनलाई मर्यादित रुपमा अगाडि बढाऔँ । सदनमा झडपको अवस्था सिर्जना हुनु राम्रो होइन, देशलाई आशा र भरोसा जगाउन सबै जिम्मेवार बनौँ । हूलहुज्जत र बल मिचाइले सदन चन्दैन”, उहाँले भन्नुभयो ।

सहकारी संस्थाहरुको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्दा व्यक्तिविशेषलाई केन्द्रित नगरी समग्र समस्या हल गर्नेगरी गरिनुपर्ने उहाँको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई विभिन्न सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लगाउँदै आएकामा लामिछानेले भने त्यसको प्रतिवाद गर्नुभयो । “सहकारीका विषयमा अदालतमा मुद्दा छैन, कसैको बयानले मलाई पोलेको छैन”, उहाँले भन्नुभयो, “कुनै पनि ज्ञापनपत्रमा मेरो बारेमा उल्लेख गरेको छैन । मेराबारे सहकारीका सम्बन्धमा धेरै समाचार आए । हल्ला र मिडिया ट्रायलका भरमा समिति बनाउँदै जाने हो भने हामीले कस्तो संसदीय अभ्यास बनाउँदैछौँ भन्ने प्रश्न आउँछ ।

छानबिन समितिको कार्यादेश तय गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल कठोर भएर उपस्थित भएको र व्यक्ति विशेष छानबिन थालिनुपर्ने अडानमा कायम रहँदा सहमति जुट्न नसकेको लामिछानेको भनाइ छ ।

प्रतिपक्षले लचकताका आधारमा समिति बनाउने कुरामा सहमति गरेर आएका हौँ, तर कार्यादेशको विषय नटुङ्गिँदै मिडियामा आइसक्छ । तपाईंहरुले कस्तो किसिमको समिति बनाउन खोज्नुभएको हो ?, रास्वपालाई बाहिर राखेर समिति गठन गर्ने भए पनि गर्नुस्”, गृहमन्त्री लामिछानेले भन्नुभयो ।

नयाँ दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको विषयलाई पुरानो र लामो संसदीय अभ्यास गुजारिसकेको नेपाली कांग्रेसले सहन नसकेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, “लोकतन्त्र र संविधानका आधारमा रास्वपा भर्खरै हुर्केको हो तर यहाँ निमोठ्ने प्रयास भयो । एउटा व्यक्तिलाई खुइल्याउने, सदनमा बोल्न नदिने अनि समस्याको समाधान गर्न पहल पनि गर्न नदिने स्थिति बन्यो ।

उपप्रधानमन्त्री लामिछानेले सहकारी समस्या समाधानका लागि व्यक्ति केन्द्रित नभई समस्या केन्द्रित रहेर जानुपर्नेमा सरकार सदैव तयार रहेको बताउनुभयो । उहाँले समस्याग्रस्त सहकारीमा सबैभन्दा पहिला बचतकर्ताको रकम फिर्ता गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले यही अधिवेशनमार्फत सहकारीका समस्या समाधानका लागि कुनै कानुन बनाएर जानसकिने भन्दै त्यस प्रक्रियामा सहजीकरण गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

यसअघि विभिन्न समयमा उठेका आर्थिक अनियमितताका उदाहरण दिँदै उपप्रधानमन्त्री लामिछानेले ती घटनामा पनि छानबिन थालिनुपर्ने धारणा राख्नुभयो । सहकारी ठगीको विषय फौजदारी कसुरको विषय भएकाले सोहीअनुसार अनुसन्धान र अभियोजनलगायत कानुनी प्रक्रियामा जानुपर्ने उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री लामिछानेले समस्या केन्द्रित छानबिन अगाडि बढ्दा आफूले त्यसलाई सहजै स्वीकार्ने र आफूमाथिको छानबिनका लागि सहजीकरण गर्न तयार रहेको स्पष्ट पार्नुभयो । “संसदीय छानबिन समिति बनाउनूस्, म परीक्षित हुन तयार छु । सञ्चारमाध्यममा समाचार आएकै भरमा व्यक्ति केन्द्रित विषयमा समिति बनाउने होइन । समस्या केन्द्रित भएर छानबिन गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठक निर्धारित कार्यसूचीअनुसार अगाडि बढ्न सकेन । उपप्रधानमन्त्री लामिछानेको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले आजका लागि निर्धारित विषयहरु कार्यसूचीबाट हटाएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ ७ गते सोमबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्