विराटनगर, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् ।
नगेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको-२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाएका हुन् ।
सरकारको गठन भएको ५२ दिन एवं प्रदेशसभाको १३ औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवं नगरवासीले यसको समर्थनमा शान्तिपूर्णरुपमा सडकमा आउन आग्रहसमेत गरेका छन् ।
उनले बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रष्ट परेका थिए ।। मुख्यमन्त्री कार्कीले भने, “नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।”
सरकारले विराटनगरको एतिहासिक पहिचानलाई कायम राखी आधुनिक पहिलो सहरको रुपमा बनाउनका लागि उपलब्ध स्रोत र साधनले भ्याएसम्म आवश्यक भौतिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले समाजको प्रगति, शान्ति, विकासमा योगदान नागरिकसँग आग्रह गरेका छन् ।







