Logo

सहमतिमै शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ: प्रवक्ता सापकोटा



काठमाडौँ, ३० भदौ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याइने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयसम्म शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्नु दु:खद् रहे पनि त्यसलाई निष्कर्षमा पुर्याउनैपर्नेमा जोड दिए ।

शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन सम्पन्न भएको जानकारी दिदै उनले एक हिसाबले पूर्णता पाएको भए पनि केही काम अझै बाँकी भएकाले त्यसलाई पनि छिट्टै पूर्णता दिनुपर्ने उल्लेख गरेका थिए । शान्ति प्रक्रिया निष्कर्षमा पुगेको घोषणा गर्न बाँकी रहेको प्रवक्ता सापकोटाको भनाइ छ ।

प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आजदेखि हुन लागेको अमेरिका भ्रमणका क्रममा नेपाली विशेषतासहित शान्ति प्रक्रिया अगाडि बढाइरहेको विश्व समुदायलाई जानकारी गराउने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्