काठमाडौँ, ९ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् ।
बिहीवार काठमाडौँमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको फोहोरको समस्या एक जना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताएकी हुन् । उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा हल गर्नुपर्ने बताइन् ।
फोहोर गर्नेसँगै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने मन्त्री झाँक्रीको भनाइ छ । उनले फोहर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् ।
उनले भन्नि, ‘सहरका समस्या झनै विकराल छन् । फोहोरको समस्या एक जना गरिबको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो छ । आफूले गरेको फोहर ढल, ढलबाट खोलामा र बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ । अब जसले फोहोर गर्छ उसैसँग पैसा उठाएर काम गर्नुपर्छ भन्ने कुरा स्थापित गर्न सकेनौँ भने पुस्तौँ पुस्तासम्म ऋणको भारी अर्को पुस्तालाई हस्तान्तरण गर्नेछौँ ।’







