झापा, १२ कात्तिक । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख एक हजार नगद राशिको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ ।
हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष नेपाल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्षसमेत रहनुभएका भक्तपुर निवासी प्रधानाङ्गलाई दिने शनिवार निर्णय भएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।
यही कात्तिक १८ गते विर्तामोडमा सहकारीको साधारणसभामा उक्त पुरस्कार वितरण गरिने भएको छ । यसअघि लघुवित्त विज्ञ शङ्करमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
सहकारी विज्ञ प्रधानाङग सहरमा भन्दा गाउँमा सहकारी खोल्नुपर्ने र राज्यको नियमन कमजोर बन्दा हाल विकृतिले मौलाउने अवसर पाइरहेको धारणा राख्दै आएका छन् । गरिबका लागि सहकारी अभियान बरदान सावित हुनेमा उनले जोड दिँदै आएका छन् ।
विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मोहम्मद युनुस सहकारी पुरस्कारसमेत प्रदान गर्दै आएको छ । सहकारीको सदस्य भएर जीवनस्तरमा उल्लेखनीय परिवर्तन ल्याउनेलाई उक्त पुरस्कार प्रदान गरिँदै आएको छ ।
सहारा सहकारीको यही असोज मसान्तसम्मको प्रतिवेदनअनुसार सदस्य सङ्ख्या रु एक लाख ५७ हजार नौ सय २० पुगेको छ भने कुल बचत रु ११ अर्ब ३८ करोड ५१ लाख एक हजार आठ सय १४ र सेयर पुँजी रु एक अर्ब ६५ करोड ५७ लाख ४५ हजार नौ सय रहेको सहकारीका निर्देशक लक्ष्मण खतिवडाले बताए ।






