झापा, २५ पुष । गरिबी न्यूनीकरणका लागि सशक्तिकरण, जीविकोपार्जन, स्वास्थ्य र वातावरण संरक्षणमा क्रियाशील सहारा नेपालले आफ्नो २९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
झापाको बिर्तामोड–२ चारपानेमा रहेको केन्द्रीय कार्यालयमा आज (शुक्रबार) आयोजना गरिएको साधारणसभामा संस्थाले हालसम्म गरेका गतिविधि, उपलब्धि र भावी कार्ययोजनाबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। समृद्ध, उत्थानशील र समतामूलक समाज निर्माणको लक्ष्यसहित स्थापना भएको सहारा नेपालले सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
संस्थाका अध्यक्ष भरतकुमार गिरीका अनुसार सहारा नेपालले हाल देशका ४३ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको छ भने चार लाख ९२ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। अध्यक्ष गिरीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा सहारा नेपालसँग ८ वटा कार्यालय, ३८ वटा सहकारी तथा सामुदायिक संस्था, १११ वटा महिला तथा आदिवासी समूह, एक बाँसआधारित उद्योग, १०८ वटा जल तथा आवास उपभोक्ता संस्था र ५ वटा सञ्जालमा आबद्धता रहेको उल्लेख गरिएको छ।
संस्थाका सचिव महेन्द्रकुमार गिरीका अनुसार सहारा नेपालले बाढीपीडितका लागि राहत वितरण, खानेपानी तथा सरसफाइ आयोजना निर्माण, सामुदायिक झोलुङ्गे पुल कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत झापा र मोरङमा १७५ घर निर्माण, ११ जिल्लामा दुई लाख ४५ हजारभन्दा बढी फलफूलका बिरुवा वितरण, बाढी प्रभावित क्षेत्रमा बाँस रोपण, किसानका लागि असल कृषि अभ्यास तालिम, टनेल सहयोग तथा कृषि सामग्री वितरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसका साथै बालबालिकाको पोषण परीक्षण कार्यक्रम पनि निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
कार्यक्रममा संस्थाका सचिव गिरीले आगामी कार्ययोजना तथा भावी कार्यक्रमसम्बन्धी प्रस्तुति गरेका थिए। विभिन्न परियोजनामार्फत तालिम, गोष्ठी, नियमित अनुगमन तथा सरकारी तथा साझेदार संस्थासँग सहकार्य गर्दै कार्यक्रम अघि बढाइँदै आएको जानकारी पनि दिइएको थियो।
संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले सहारा नेपालले समाजका कमजोर वर्गका लागि वास्तविक सहाराको भूमिका खेलेको उल्लेख गरे। कार्यक्रममा सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले पनि शुभकामना मन्तव्य व्यक्त गरे।
साधारणसभाकै अवसरमा सुरक्षित आवास परियोजनाका संयोजक भीमप्रसाद भेटवाल उत्कृष्ट कर्मचारी घोषित भई नगदसहित सम्मानित भएका थिए। साथै श्री दुर्गा माध्यमिक विद्यालय गरामनीलाई टेलिभिजन र दुर्गेश्वरी कृषि सहकारीलाई एक थान कम्प्युटर सहयोग प्रदान गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सोमनाथ तिम्सिनाले राखेका थिए भने सञ्चालन कार्यक्रम व्यवस्थापक मात्रिका सुवेदीले गरेका थिए। साधारणसभाको अवसरमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।







