दाङ, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छन् ।
नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका-६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने बताएकी हुन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो । अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन् ।
मन्त्री शर्माले मुलुकमा व्यवस्था परिवर्तनका लागि भएको लामो द्वन्द्वका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताएकी हुन् ।
“मुलुकमा शान्ति प्रक्रियाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रक्रियाको काम छ महिनामा टुङ्गो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भइसक्यो, अब शान्ति प्रक्रियाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो सार्थक टुङ्गोमा पु¥याउनुपर्छ, यसका लागि सरकार गम्भीर रुपमा लागि परेको छ”, उनले भन्नि, “सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्बाट पारित गर्ने प्रक्रियामै छौँ ।”







