काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन् ।
उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए । २ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ । सोही कारण एमालेले शुक्रबार नै सांसदहरूलाई बिदाइ गरेको हो ।
अध्यक्ष ओलीले सांसदहरूलाई चाडपर्वको शुभकामना दिँदै भने, ‘सबै माननीयहरूलाई हार्दिक बधाई, दसैँ लगायत सबै चाडपर्वको शुभकामना, हामीले सानदार रूपमा आफ्नो कार्यकाल पुरा गरेका छौ।’
बैठकमा अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाइ गर्दै मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउने गरी खटिन निर्देशन समेत दिएका छन् । ‘मङ्सिर ४ मा आम निर्वाचन हुँदै छ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हासिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पूर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले जो, जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पुरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्ने बताए।







