धनगढी, १९ माघ । नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य तथा सचेतक अरुणकुमार चौधरी पक्राउ परेपछि कैलालीमा विरोध प्रदर्शन गरिएको छ ।
बिहीवार कैलाली निर्वाचन क्षेत्र-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका थिए ।
चौधरीलाई कोहलपुरबाट पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले कैलालीस्थित बौनियामा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि बौनिया बजारमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नाउपाका नेता जन्मदेव सञ्जालले शुक्रबार बिहान १० बजेदेखि कैलालीमा यातायात बन्द गर्ने चेतावनी पनि दिएका छन् ।
एक दशक पुरानो आगजनीको मुद्दामा ६ महिना कैद र जरिवाना सजाय सुनाइएका चौधरीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।






