Logo

सांसद श्रेष्ठको कारबाहीबारे संसद् सचिवालयले अध्ययन गर्ने



काठमाडौँ, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे संघीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ ।

रास्वपाले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार संघीय संसद् सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ । सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुखलाई जानकारी गराउने संघीय संसद्का प्रवक्ता एकराम गिरीले बताए ।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐनले जे-जे व्यवस्था गरेको छ, साधारण सदस्यबाट निष्कासन गर्नका लागि जुनविधि प्रक्रिया अपनाउनुपर्छ भनिएको छ, सोसम्बन्धी प्रक्रिया पूरा गरेको छ कि छैन भनेर अध्ययन गरिनेछ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधिसभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था छ । संसद् नचलेको बेला सभामुखले सूचना पार्टीमा सूचना टाँस गरेर जानकारी गराउनुपर्नेछ ।

गएको चैत ३० गते ढाकाकुमारलाई कारबाही गरेको पत्र रास्वपाले आयोगमा पठाएको थियो । उनीमाथि गरिएको कारबाही प्रक्रियागत रूपमा ठिक भए यही वैशाख १४ गतेभित्र सभामुखले स्थान रिक्तताको जानकारी गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका कुनै एक उमेदवारलाई प्राथमिकता क्रमानुसार छनोट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने बताइएको छ ।

रास्वपाले भने समानुपातिक सूचीमा रहेका विन्दवासिनी कंसाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्