काठमाडौँ, ८ भदौ । सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित भइन्– नायिका करिस्मा मानन्धर । सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उनी नेपाल प्रहरीको साइबर ब्युरो पुगिन् आफूमाथि साइबर हिंसा गर्नेलाई कारबाही गराउन माग गर्दै अदालतसम्म पुगिन् । उनले भनिन्, “म सार्वजनिक व्यक्ति त हुँ तर मेरो पनि आफ्नो निजी जीवन छ, जोसुकैले जथाभाबी रूपमा भन्न वा लेख्न पाइन्न भनेर म उपचार खोज्न गएकी हुँ ।”
कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ पनि यस्तो हिंसाबाट पीडित छन् । प्रदेश नामकरणको विषयलाई लिएर आफूमाथि अनेकौँ लान्छना सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत आइरहेको उनले बताइन् ।
उनीहरू अनलाइन हिंसा भोग्ने प्रतिनिधि पात्र हुन् । कतिपय अवस्थामा कहाँ जाने र के गर्ने भन्ने अन्योलले पनि हिंसा भोग्नेहरू चुप लाग्नु परेको बाध्यता अपाङ्ग महिला सङ्घकी देवु पराजुली बताउछिन् । उनको संस्थामा रहेका हिंसापीडित अपाङ्गता भएका महिलामाथि नै दाता बनेर आएका प्रतिष्ठित व्यक्तिले नै थप हिंसा गर्न खोजेको बताइन् । पराजुलीले भनिन्, “प्रहरीमा जाँदा जुन देशमा बस्ने हो, त्यहीँको कानुन आकर्षित हुने भएकाले त्यतै जान भन्नुहुन्छ । कहाँ गएर के गर्ने अन्योलमा छौँ ।”
केही समयअघि सहयोग गर्छु भन्दै क्यानडाका लागि शान्तिदूत तोकिएका एक प्रतिष्ठित व्यक्तिले सामाजिक सञ्जालमार्फत आफूकहाँ रहेका युवती र महिलामाथि हिंसाजन्य क्रियाकलाप गर्न खोजेको आरोप उनको छ ।
अनलाइनमार्फत हुने हिंसाको सिकार हुने पत्रकार महिलाको सङ्ख्या पनि उच्च छ । शिक्षित व्यक्तित्व, व्यवसायी, प्रहरी र कम साक्षर महिला हरेक दिनजसो ठुलो सङ्ख्यामा अनलाइन हिंसाको सिकार हुन बाध्य छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।







