Logo

साउदी उडेको नेपाल एएयरलाइन्सको जहाज पाकिस्तानको आकाशबाट फर्कियो



काठमाडौँ, १८ असोज । काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ ।

गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँ अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार काठमाडौँ–दमाम उडानको उक्त जहाजको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौँ फर्काइएको हो । पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाज काठमाडौँ फर्काएका थिए ।

जहाज उडानको क्रममा अन्य जहाज नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ । महाप्रबन्धक तिवारीले भने, “टिकास जहाज भित्रको सिस्टम हो, यसलाई ‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ भनिन्छ, जसले कुनै जहाज नजिक आएको खण्डमा सम्भावित जोखिमबाट जोगाउन आवश्यक निर्देशन दिन्छ ।” उक्त जहाजका यात्रुलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्