Logo

साउदी-नेपालबीच श्रमिक सुरक्षालाई केन्द्रमा राख्दै ऐतिहासिक श्रम सम्झौता



काठमाडौं, १२ माघ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरब र नेपालबीच लामो समयदेखि प्रतीक्षित द्विपक्षीय श्रम सम्झौता अन्ततः औपचारिक रूपमा सम्पन्न भएको छ। साउदी राजधानी रियादमा आयोजित विशेष कार्यक्रममा साधारण श्रमिकको भर्ना, व्यवस्थापन र संरक्षणसम्बन्धी सम्झौतामा दुवै देशका श्रमसम्बन्धी मन्त्रीहरूले हस्ताक्षर गरेका हुन्।

नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरबका मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले सम्झौतामा हस्ताक्षर गरेपछि साउदीमा कार्यरत तथा जान चाहने नेपाली श्रमिकका लागि नयाँ ढोका खुलेको छ। यसले रोजगारी प्रक्रिया थप व्यवस्थित, पारदर्शी र अधिकारमुखी बनाउने अपेक्षा गरिएको छ।

नेपालले २०७० सालदेखि नै साउदीसँग औपचारिक श्रम सम्झौताको पहल गर्दै आएको थियो। विभिन्न चरणमा मस्यौदा आदान–प्रदान भए पनि राजनीतिक र प्राविधिक कारणले सम्झौता निष्कर्षमा पुग्न सकेको थिएन। गत भदौमा मन्त्रिपरिषद् बैठकले सम्झौता अघि बढाउने निर्णय गरेसँगै प्रक्रिया तीव्र बनेको थियो, जसले अहिले मूर्त रूप लिएको छ।

सम्झौताअनुसार श्रमिक भर्ना प्रणालीलाई लागत–प्रभावकारी बनाइने, तलब, सुविधा र सामाजिक सुरक्षासम्बन्धी गुनासो अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनुवाइ गरिने र श्रमिकमाथि अन्याय गर्ने रोजगारदाता कम्पनीलाई कानुनी दायरामा ल्याउन दुवै देशले सहकार्य गर्नेछन्।

वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार साउदी अरब नेपाली श्रमिकको सबैभन्दा ठूलो गन्तव्य मुलुकमध्ये एक हो। पछिल्लो आर्थिक वर्षमा मात्रै एक लाखभन्दा बढी नेपालीले साउदीका लागि श्रम स्वीकृति लिएका छन्। नयाँ सम्झौताले ती श्रमिकको हकहित सुरक्षित गर्दै रोजगारीलाई थप मर्यादित बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्