काठमाडौं, ७ मंसिर । नेपालले सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा ‘बीबी माइनस’ पाएको छ । नेपालले पहिलो पटक ‘सोभरेन क्रेडिट रेटिङ’ गराएको हो । क्रेडिट ‘रेटिङ’का लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच’ ले नेपालको ‘रेटिङ’ गरेको हो ।
भारतबाहेकका दक्षिण एसियाली मुलुकको तुलनामा नेपालले पाएको ‘रेटिङ’ राम्रो हो । नेपालले पाएको ‘रेटिङ’ भारतको भन्दा दुई स्थान तल हो । हाल भारतको ‘रेटिङ’ ‘बीबीबी माइनस’ छ ।
नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने संकेत देखिएकाले आर्थिक वृद्धिदरमा सकारात्मक वृद्धि हुने अनुमानका आधारमा उक्त ‘रेटिङ’ प्रदान गरेको फिचले जनाएको छ । ‘रेटिङ’ले नेपालमा राजनीतिक स्थिरता भए आर्थिक सुधारको प्रशस्त सम्भावना रहेको पनि देखाएको छ । साख मूल्यांकन प्रक्रियाअन्तर्गत स्थलगत अध्ययनका लागि ‘फिच क्रेडिट रेटिङ’ को टोली गत भदौ अन्तिम साता नेपाल आएको थियो । त्यसपछि फिचले नेपालको सोभरेन क्रेडिट ‘रेटिङ’ सार्वजनिक गरेको हो । सामान्यतया ‘बीबीबी माइनस’ देखि माथिको
‘रेटिङ’ लाई लगानीका लागि राम्रो मानिन्छ भने त्यसभन्दा तल बीबी माइनससम्मलाई सट्टेबाजीको ‘रेटिङ’ मानिन्छ । त्यसभन्दा मुनिको ‘रेटिङ’लाई उच्च जोखिमयुक्त वा टाट पल्टिन सक्ने सम्भावना भएको मानिन्छ ।
जति खराब ‘रेटिङ’ भयो, त्यति नै त्यो मुलुकले ऋण फिर्ता गर्न नसक्ने जोखिम बढी हुने वा लगानीको वातावरण खराब मानिने जानकारहरू बताउँछन् । ‘रेटिङ’ पछि सरकारले ऋणपत्र जारी गरेर विदेशबाट लगानी भित्र्याउन र ऋण लिन पनि सजिलो हुने उनीहरूको भनाइ छ । साथै ‘रेटिङ’ ले सुधारका प्रशस्त सम्भावना देखाएकाले आवश्यक सुधार गर्न सके माथिल्लोस्तरको ‘रेटिङ’ प्राप्त गर्न सक्ने सम्भावनाको बाटो पनि खोलेको उनीहरूको भनाइ छ ।
नेपालले पाएको ‘रेटिङ’ अपेक्षाभन्दा राम्रो भएको जानकारहरू बताउँछन् । पहिलो ‘रेटिङ’मै ‘बीबी माइनस’ प्राप्त हुनु निकै राम्रो भएको चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराईको तर्क छ । ‘रेटिङ’ ले अल्पकालमा स्थिर र दीर्घकालमा केही जोखिम भनेर देखाएको छ । ‘हामीले कमजोरीहरू सुधारेर दीर्घकालको जोखिम निराकरण गर्न सकिन्छ, प्रत्येक ६/६ महिनामा रेटिङको अवस्थामा सुधार गर्न सकिन्छ, यसकारण यो नराम्रो होइन,’ उनले भने । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि सेयर बजारमा लगानी भएजस्तै नेपालमा पनि लगानी गर्न सकिन्छ भन्ने सन्देश रेटिङले दिएको उनले बताए ।
त्यस्तै पूर्वअर्थ सचिव रामेश्वर खनालले पनि नेपालको पहिलो रेटिङ अपेक्षाभन्दा राम्रो भएको बताए । ‘नेपालका बारेमा हामी आफैंले अर्थतन्त्रका बारेमा गरिने रेटिङको तुलनामा राम्रो हो, हामीकहाँ विदेशी लगानी कम आउनुको कारण अलि बढी नै जोखिम छ कि भन्ने थियो । रेटिङले धेरै जोखिम छ भन्ने त्रास हटाइदिएको छ ।’ उनले भने, ‘राजनीतिक अस्थिरता, सरकारी वित्तको कमजोर अवस्था, विश्वव्यापी रूपमा जीडीपीको अनुपातमा सार्वजनिक ऋणको अनुपात कम भए पनि जसरी बढिरहेको छ, त्यो जोखिमपूर्ण रहेको देखाएको छ ।’ साथै उनले रेटिङले राजस्व बढ्न नसकेको, नियामक निकायको भूमिका प्रभावकारी नभएको लगायत कमजोरीसमेत औंल्याएको खबर कान्तिपुर दैनिकमा छ ।