Logo

साढे २१ घन्टापछि एमाले महाधिवेशनको मतदान सकियो, अब परिणामको प्रतीक्षा



काठमाडौं, ३ पुष । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया बिहीबार बिहान सम्पन्न भएको छ। करिब साढे २१ घन्टासम्म चलेको मतदान आज बिहान करिब ७ बजे सकिएको हो।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार बुधबार बिहान ९:२० बजेबाट विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु गरिएको थियो। लामो समयसम्म चलेको मतदानपछि अब मतगणनाको चरणमा प्रवेश गरिएको उनले जानकारी दिए।

बिहान साढे ७ बजेतिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले करिब आधा घन्टाभित्र मतगणना सुरु हुने र गणना सुरु भएको दुई घन्टाभित्र प्रारम्भिक परिणाम आउने सम्भावना रहेको बताए।

महाधिवेशनका लागि कुल २ हजार २ सय ६३ मतदाता सूचीकृत भए पनि २ हजार २ सय २७ मत मात्र खसेका छन्। निर्वाचन आयोगका अनुसार विभिन्न कारणले ३६ जना मतदाता मतदान प्रक्रियामा सहभागी हुन सकेनन्।

नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन्। यसबाहेक केही उम्मेदवारहरू प्यानल बाहिर रहेर स्वतन्त्र रूपमा पनि मैदानमा उत्रिएका छन्।

अब मतगणनापछि आउने परिणामले एमालेको भावी नेतृत्व संरचना र राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्