Logo

साढे ६ लाखको सुपारी दिएर सिटी सफारी चालकको हत्या, ७ जना पक्राउ



सुनसरी, २२ मंसिर । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।

दशैँलगत्तै सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न आरोपमा सुटरसहित ७ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्याका मुख्य योजनाकार समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा राजेश साह, नन्दकिशोर साह , मोहम्मद इव्राइम मिया, अंकित साह, प्रिन्सकुमार दास, गियास मन्सुरी र मिथलेश यादव रहेको प्रहरीले जनाएको छ । पुरानो रिसिवीका कारण चौधरीको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकामध्ये राजेश साहले आफूलाई चौधरीले तन्त्रमन्त्र गरेर बिरामी पारेको भन्दै हत्याको योजना बनाएको प्रहरीलाई बताएका छन् ।

चौधरीको हत्या गर्न राजेशले ६ लाख ५० हजार रूपैयाँ सुपारी दिएर सुटर मोहम्मदलाई प्रयोग गरेका थिए । उनले ३ लाख रूपैयाँ समेत पेश्की लगेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्