Logo

सात दलले पाए राष्ट्रिय दलको मान्यता



फायल तस्बिर

काठमाडौँ, २९ मंसिर । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्थाबमोजिम यस निर्वाचनबाट सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय पार्टी भएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार प्रदेश नं १ मा छ, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा सात, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा छ र सुदूरपश्चिम प्रदेशमा छ राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशसभामा प्रतिनिधित्व भएको छ ।

आयोगले प्रतिवेदनअनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेशसभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित हुनुभएको छ । त्यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ८८ लाख ४७ हजार पाँच सय ७९, पुरुष ९१ लाख ४० हजार आठ सय छ र अन्य एक सय ८५ गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम रहेका थिए ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरूमध्येबाट मतदाता नामावली ऐन, २०७३ को दफा ३० बमोजिम तयार गरिएको अस्थायी मतदाता नामावलीमा चार लाख ५० हजार मतदाता रहेका थिए । देशभरिका सम्पूर्ण मतदाताको सहजतालाई मध्यनजर गरी यस निर्वाचनमा १० हजार आठ सय ९२ मतदान स्थलका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

त्यसैगरी अस्थायी मतदाताहरूलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था अनुरुप एक सय ४१ अस्थायी मतदान स्थलको समेत व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्