काठमाडौँ, १७ असार । विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन् । केही दूतावाससँगै संयुक्त राष्ट्रसङ्घीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदै छ । कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्कने तयारीमा छन् ।
परराष्ट्र मन्त्रालयका सूचना अधिकारी पारस पण्डितले सात वटा नियोग तथा केही दूतावासका नेतृत्व पद खाली भइसकेको र केहीको खाली हुने क्रममा रहेको बताउँदै भने, “चार जना फर्किसक्नुभएको छ । अन्य फर्कने क्रममा हुनुहुन्छ ।”
अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका प्रमुख अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घको जेनेभास्थित नियोग प्रमुख मनिप्रसाद भट्टराई छिट्टै फिर्ता हुने तरखरमा छन् ।
थाइल्यान्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकाल, कुबेतका लागि नेपालका राजदूत दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि नेपालका राजदूत भृगु ढुङ्गाना र संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल कार्यकाल सकेर फर्किसकेका छन् ।
फ्रान्सका लागि नेपालका राजदूत दीपक अधिकारी पनि फर्कने क्रममा छन् । परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा राजदूत नियुक्तिको पहल भने थाल्न सकेको छैन । फर्केका समेत गरेर मन्त्रालयमा राजदूत बन्न योग्य सात जना सहसचिव कामविहीन छन् ।
बाहिरबाट फर्केलगत्तै मन्त्रालयले काम दिने अवस्था रहन्न। मन्त्रालयका महाशाखाहरू पहिले नै पूर्ण रहेकाले सात जनालाई जगेडामा राखिएको छ । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने खाली भएका दूतावासमा राजदूत नियुक्तिको पहल छिट्टै हुने बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।





