Logo

साथीलाई पेट्रोल छर्की आगो लगाएर भाग्ने पक्राउ, तीन घाइते



काठमाडौँ, २५ असोज । आफूसँगै काम गर्ने साथीलाई पेट्रोल छर्की आगो लगाएर भाग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको सुवर्णपुर गाउँपालिका-६ घर भई हाल ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा काम गर्ने वर्ष २६ का शिवु भन्ने सुवास विक यही असोज १२ गते रातिको समयमा साथीलाई आगो लगाएर घाइते बनाई भागेकामा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

एकै ठाउँमा घर भई सोही ठाउँमा काम गर्ने वर्ष २४ का अरुण विश्वकर्मालाई पेट्रोल छर्की आगो लगाएर उनी भागेका थिए । आगो सल्किएपछि त्यहाँ रहेका अन्य दुईसमेत गरी तीन जना घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरूको अहिले कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा अनुसन्धान तथा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आगो लगाउने विकलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्