Logo

साना भन्सारबाट भित्रिँदै छलीका सामान



परासी, १० भदौ । नवलपरासीका सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन् । सबैभन्दा बढी जिल्लाको भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान भित्रिने गरेका हुन् ।

तस्करीको ट्रान्जिट प्वान्टकै रूपमा चिनिने यी नाकाबाट पछिल्लो दुई महिनायता ठूलो मात्रामा तस्करीका सामान नभित्रिए पनि छिट्फुट्ट तस्करीको कार्य भने रोकिएको छैन । सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय र युनिट छन् ।

तस्करी कार्यलाई रोक्न भन्दै सवारीसाधन र पैदलयात्रीलाई गस्ती बढाएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनाउँदै आएका छन् । तर तथ्यांकलाई हेर्दा तस्करीका सामान बरामद गर्नेमा प्रहरीका यी दुवै संगठन कमजोर देखिएका छन् । यी दुई संगठनको तुलनामा भन्सार कार्यालय झनै कमजोर देखिएको छ ।

भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीमध्ये तस्करीका सामान बरामद गर्नेमा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय अघि देखिएको छ । जिल्लामा राजस्व अनुसन्धान कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र महेशपुर भन्सार कार्यालय गरी चार निकायले अवैध सामान बरामद गर्दै आएका छन् ।

दुई प्रहरी संगठन र भन्सार कार्यालयले नाका र सम्भावित स्थानमा नियमित निगरानी र गस्ती गर्दै आएको जनाए पनि कसैले दिएको सूचनाको आधार र छड्के रूपमा कहिलेकाहीँ जिल्लामा गस्ती गर्न आउने राजस्व अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको सामानको मूल्य हेर्दा उनीहरू कमजोर मात्र देखिएका छैनन्, मिलेमतोमा तस्करी हुँदै आएको आशंका पनि गरिएको छ ।

अन्नपूर्ण पोस्ट्ले संकलन गरेको छुट्टाछुट्टै विवरणअनुसार आव २०७९र८० को एक वर्षको अवधिमा जिल्लाबाट कुल ३६ करोड ९४ लाख ७९ हजार रुपैयाँबराबरका अवैध सामान बरामद भएका छन् । जसमा सबैभन्दा बढी राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको छ ।

कार्यालयको गस्ती टोलीले मात्र २३ करोड ४ लाख ६१ हजार रुपैयाँबराबरको अवैध सामान नवलपरासीबाट बरामद गरेको अनुसन्धान कार्यालयका सूचना अधिकारी हुमबहादुर पाण्डेले जानकारी दिए ।

त्यस अवधिमा नेपाल प्रहरीले ६ करोड २० लाख रुपैयाँको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

त्यस्तै गण र मातहतका युनिटले एक वर्षको अवधिमा ३ करोड १ लाख रुपैयाँको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण हेक्वा नवलपरासीका एसपी धीरेन्द्रराज न्यौपानेले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्