काठमाण्डौ, २५ पुस । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा आयोजना हुने भएको छ ।
काठमाण्डौमा हिजो भएको साफको कार्यसमितिको बैठकले आउँदो जुन १५ देखि जुलाई २५ सम्म हुने प्रतियोगिता होम वा अवे फर्म्याटमा आयोजना गर्ने निर्णय गरेको हो ।
साफ महासचिव अनवरुल हकले च्याम्पियनशिपलाई होम वा अवे ढाँचामा गर्न प्रयास गर्ने कुनै समस्या आएमा यस वर्ष केन्द्रीकृत ढाँचामा आयोजना गरिने बताउनुभयो ।
बैठकले साफ क्लब फुटबलको पहिलो संस्करण सन् २०२६ देखि शुरू गर्ने निर्णय गरेको छ । यस प्रतियोगितामा आठ क्लबले भाग लिनेछन्, जसमा एएफसी क्लब वरियतामा शीर्ष स्थानमा रहेको देशलाई दुई स्थान दिने व्यवस्था गरिएको छ ।
त्यस्तै यो वर्ष सन् २०२५ मा महिला क्लब प्रतियोगिता शुरू गर्ने र सन् २०२६ मा साफ २३ वर्ष मुनिको च्याम्पियनशिप गर्ने निर्णय पनि भएको छ ।