काठमाडौं, १३ कार्तिक । यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाए पनि नेपाल उपाधिविहीन बन्दै आएको छ । सन् २०१० देखि सुरु भएको यस च्याम्पियनसिपको सातौँ संस्करण चल्दै गर्दा नेपाल सन् २०१६ मा भारतमा भएको चौथो संस्करणबाहेक सबैमा फाइनलमा पुगेको छ ।
सनसनीपूर्ण सेमिफाइनलमा यस पटक भारतलाई टाइब्रेकरमा ४–२ गोलले पन्छाउँदै फाइनलमा पुगेको नेपाललाई उपाधि जित्न बङ्गलादेश पन्छाउने चुनौती छ । पाँच पटकको च्याम्पियन भारतलाई सेमिफाइनलमा हराएको नेपालले बुधबार साँझ ६स्३० बजे फाइनलमा पुनः साबिक विजेता बङ्गलादेशको सामना गर्दैछ ।
घरेलु मैदानमै भएको अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । नेपाललाई फाइनलमा बङ्गलादेशसँग मिठो बदला लिने मौका छ । नेपाली टिम कप्तान एन्जिला तुम्बापो सुब्बाले विगतको संस्करणमा उपविजेता बनेको तितो क्षणलाई बिर्सेर यस पटक उपाधि जितेर छाड्ने बताउनुभयो ।
‘‘हामीले राम्रो फुटबल खेलिरहेका छौँ । बङ्गलादेश पनि धेरै राम्रो छ । तर हामी बङ्गलादेशलाई हराउनका लागि खेल्नेछौँ । टोलीमा सबै खेलाडीको मनोबल उच्च छ । यस पटक टिम भावना पनि राम्रो छ । ‘हामी सक्छौँ, हामी जित्छौँ’ भन्ने नारालाई स्थापित गर्नेछौँ,’’ फाइनल खेलअघि आयोजित प्रि–म्याच कन्फरेन्समा सुब्बाले भन्नुभयो ।
यसैगरी नेपालका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले व्यक्तिगत रूपमा जितको भावना राखेर खेलेमा उपाधि टाढा नभएको बताउनुभयो । ‘‘बङ्गलादेश प्राविधिक रूपमा धेरै राम्रो छ । साबिक विजेता भएकोले पनि उसले सकेको मिहिनेत गर्नेछ । तर हाम्रो खेलाडी र प्रदर्शन पनि कमजोर छैन । मैदान र खेल्ने बलको साइज उही हो । पाएको मौकालाई सदुपयोग गर्ने र आफ्नो पोजिसनमा राम्रो खेल्न खेलाडीलाई अनुरोध छ । भारतविरुद्धको खेलबाट खेलाडीले प्रमाणित गरिसकेका छन् । दर्शकको साथमा उपाधि जितेर छाड्नेछौँ । यस पटक फाइनल हार्ने छुट हामीलाई छैन,’’ तामाङले भन्नुभयो ।
बङ्गलादेशका प्रशिक्षक पिटर बटलरले फाइनल खेल सोचेभन्दा प्रतिस्पर्धात्मक हुने बताउनुभयो । ‘‘साबिक विजेताको रूपमा हामीलाई चुनौती छ । घरेलु टोलीलाई पनि कम चुनौती छैन । फाइनल खेल रोचक हुनेछ । नेपालले भारतविरुद्ध खेलेको सेमिफाइनल हेर्दा हामीलाई पक्कै सजिलो छैन । तर हामी राम्रो फुटबल खेल्दै प्रतिपक्षलाई सम्मान गर्न चाहन्छौँ,’’ पिटरले भन्नुभयो ।
कप्तान सवीना खातुनले पछिल्लो समय बङ्गलादेशको प्रदर्शनमा सुधार आएकोले फाइनलमा झनै सुधारिएको खेल खेल्ने बताउनुभयो । ‘‘टोलीका युवा खेलाडीले पनि राम्रो खेलिरहेका छन् । नेपाल हाम्रो लागि बलियो प्रतिद्वन्द्वी हो । अघिल्लो संस्करणमा भन्दा नेपालको खेल यस पटक बेजोड छ ।