काठमाडौं, ६ भाद्र । सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित निकालेको छ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले भुटानलाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै दुई खेल खेलेको नेपालले तीन अंक जोडेको छ। पहिलो खेलमा भारतसँग नेपाल ७-० ले पराजित भएको थियो।
यता भुटानको भने यो लगातार दोस्रो हार हो। भुटान पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो।
आज खेलको पहिलो हाफमा १-० गोलले पछि परेको नेपालले खेलको ५८औँ मिनेटमा बराबरी गोल फर्कायो। नेपालको लागि साहरा लिम्बूले गोल गरिन्। त्यसअघि खेलको ४२औँ मिनेटमा भुटानका लागि कुन्डेन सोनाम शेगेलले गोल गरेकी थिइन्। खेलको ७७औँ मिनेटमा साहराले नै गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः नेपाल विजयी भयो।







