Logo

साफ यू-२० महिला च्याम्पियनसिप: बंगलादेशसँग नेपाल पराजित



काठमाडौं, २९ असार । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराएको हो । नेपालले २-० ले पछि परेको अवस्थाबाट खेल बराबरीमा ल्याएपनि इन्जुरी समयमा सम्हालिन सकेन

बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले १-१ गोल गरे । नेपालका अनिशा राई र मीना देउवाले १-१ गोल गरे ।

बंगलादेश पहिलो हाफमा २-० ले अगाडि थियो । सिन्हा शिखाले १४औं मिनेटमा तथा सागोरिकाले ३६औं मिनेटमा गोल गरेकी थिइन् ।

दोस्रो हाफको ५६औं मिनेटमा नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिका हात हालाहालमा उत्रिएपछि दुवैले रातो कार्ड पाउँदा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए ।

७७औं मिनेटमा पेनाल्टीमार्फत अनिशा राईले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । ८६औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् ।

बराबरी गोल गरेपछि मीना देउवा । तस्वीर : एनएसजेएफ
तर इन्जुरी समयको अन्तिम मुभमा श्रीमोतीले गोल गर्दै बंगलादेशलाई जित दिलाइन् । उक्त गोल लगत्तै फाइनल ह्विसल बजेको थियो ।

नेपालले पहिलो हाफमा गोल गर्ने मुभहरू खासै बनाउन नसकेपनि दोस्रो हाफमा बंगलादेशलाई दबाबमा राखेको थियो ।

पहिलो खेलमा नेपालले भुटानलाई ६-१ तथा बंगलादेशले श्रीलंकालाई ९-१ गोलअन्तरले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्