काठमाडौं, १८ फागुन । आयोजक भारत आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। साविक विजेतासमेत रहेको भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
कोलकातास्थित इडेन गार्डेन्समा सम्पन्न खेलमा १९६ रनको लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा ५ विकेट गुमाउँदै रोमाञ्चक जित दर्ता गर्यो।
भारतको जितमा सञ्जु सामसन नायक बने। उनले ५० बलमा अविजित ९७ रनको उत्कृष्ट पारी खेले। उनको पारीमा १२ चौका र ४ छक्का समावेश थिए। तिलक वर्माले २७ रन जोड्दा हार्दिक पाण्ड्याले १७ रन बनाए।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर र शाई होपले दुई–दुई विकेट लिए भने अकिल होसेनले एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। रोस्टन चेजले ४० रन बनाउँदा जेसन होल्डर ३७ तथा रोभमन पोवेल ३४ रनमा अविजित रहे। कप्तान शाई होपले ३२ र शिमरोन हेटमायरले २७ रनको योगदान दिए।
भारतका जसप्रित बुमराहले २ विकेट लिए भने हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले समान १–१ विकेट लिए।
यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ। अब इंग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र भारतले सेमिफाइनल खेल्नेछन्।







