झापा, ३० फागुन । स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले असहाय तथा अपांगता भएका व्यक्तिहरूका लागि आवास निर्माण गर्ने उद्देश्यले २ कठ्ठा ७ धुर जग्गाको रकम भुक्तानी सम्पन्न गरेको छ।
सामाजिक अभियन्ता गणेश ढुंगानाको नेतृत्वमा सञ्चालन भएको अभियानले कोरोना महामारीको समयमा असहाय र अपांगता भएका व्यक्तिहरूलाई खाद्यान्न सहयोग वितरण गर्दै सामाजिक सेवा सुरु गरेको थियो। त्यसपछि विभिन्न स्थानबाट टुटेफुटेका सिसा, प्लास्टिक तथा अन्य फोहोर संकलन गरी आएको रकम र ‘एक व्यक्ति एक धुर सहयोग’ अभियानमार्फत संकलित सहयोगबाट अर्जुनधारा–११ सालबारीमा ४२ लाख रुपैयाँमा उक्त जग्गा खरिद गरिएको हो।
जग्गाको अन्तिम किस्ता तिर्न अस्ट्रेलियामा बस्दै आएका राजन प्रसाईं, दिया प्रसाईं र डम्बर कुमारी ओली प्रसाईंले आफ्ना बुबाआमा स्वर्गीय गोपीलाल प्रसाईं, सावित्रा प्रसाईं तथा काशीनाथ र गोमा देवी प्रसाईंको स्मृतिमा भान्जा योगेश ओलीमार्फत ८१ हजार रुपैयाँ सहयोग गरेका थिए। उक्त रकमसमेत कार्यक्रममा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा अभियानका अध्यक्ष गणेश ढुंगानाले छिट्टै असहाय तथा अपांगता भएका व्यक्तिहरूका लागि आवास निर्माण गरिने र त्यसका लागि सहयोगी दाताहरूबाट सहयोग जुटिरहेको जानकारी दिए।
कार्यक्रममा युवा व्यवसायी समाजका सदस्य भूपेन्द्र श्रेष्ठ तथा दाताका तर्फबाट योगेश ओलीले सामाजिक र परोपकारी कार्यमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे। अभियानले हालसम्म सहयोग पुर्याउने सबै दाताहरूलाई धन्यवाद व्यक्त गरेको छ। कार्यक्रमको सहजीकरण अभियानका सहजकर्ता बीपी कोइरालाले गरेका थिए।







