वीरगञ्ज, ८ भाद्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दु:ख व्यक्त गरेका छन् ।
समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ ।” यो बडो दु:खद कुरा हो र यसलाई हामीले गम्भीर रुपमा लिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।
प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उनले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको स्पष्ट पारेका थिए ।
“सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ”, प्रधानमन्त्री दाहालले भने, ‘‘सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन ।”
विभिन्न अवरोध, अड्चनका बाबजुद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई सरकारले निष्कर्षमा पुर्याउने उनले बताए ।
यसबाहेक सरकारले मधेसमा ठूलो समस्याको रुपमा देखिएको मिटरब्याजी पीडितहरुको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री दाहालले चर्चा गरेका हुन् । मधेसको विकासका लागि आफू चिन्तित रहेको बताउँदै उनले निजगढ विमानस्थल निर्माणका लागि बिहीबार नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेकाले काम छिट्टै अघि बढ्ने दाबी गरेका थिए ।







