Logo

सामाजिक सञ्जालमा गलत सामग्री पाेस्ट गर्नेलाई कडा कारबाही हुने



काठमाडौँ, १८ वैशाख । निर्वाचन आयोगले सामाजिक सञ्जालमा गलत सामग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगमा आइतवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको बेलामा उम्मेदवार र राजनीतिक दललाई लक्षित गरेर हुँदै नभएका र तोडमोड गरिएका सामग्री सामाजिक सञ्जालमा राखेर फैलाउने क्रम बढेको भन्दै कडा निगरानी गरेर कारबाही गर्ने बताए ।

राजनीतिक दल र उम्मेदवारप्रति लक्षित गरेर मिथ्या सामग्री, दुष्प्रचार र द्वेष अभिव्यक्ति फेसबुक, ट्विटर, टिकटक, भाइबर र अन्य सामाजिक सञ्जालमार्फत प्रचार भइरहेको भन्दै आयोगले गलत र भ्रामक सामग्री, व्यक्तिगत लाञ्छना तथा मानहानी हुने जस्ता क्रियाकलापका कारण स्वच्छ र निष्पक्ष ढङ्गले चुनाव सम्पन्न गर्ने काममा बाधा पुगेको जनाएको छ । यस्ता काम नगर्न/नगराउन आयोगले सर्वसाधारण, दल र उम्मेदवार सबैमा आग्रह गर्दै प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ ।

आयोगले मिथ्या सामग्री फैलिनबाट रोक्न फेसबुक, ट्विटर, टिकटक लगायत कम्पनीसँग समन्वय गर्नका लागि सम्पर्कको पहल भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्