Logo

सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य हुँदैन: पोखरेल



वीरगञ्ज, १६ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति, वेशभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका छन् ।

अम्बिका-ममता स्मृति प्रतिष्ठानद्वारा आज आयोजित अम्बिका सिंह-ममता राजकर्णिकार स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबैको सम्मान हुने गरी सामाजिक एकता अहिलेको आवश्यकता रहेको बताए ।

“कहिले जातजातिका नाममा त कहिले भाषाभाषीका नाममा सामाजिक सद्भाव भड्काउने काम हुने गर्छ”, उनले भने, “सामाजिक एकतालाई भड्काएर कसैको भलो हुँदैन, यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ, यसले सामाजिक एकतालाई भड्काउने कार्यप्रति सबै सचेत हुनु आवश्यक छ ।”

राजनीतिक स्थिरता कायम गर्नु, आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउनु तथा सामाजिक सद्भावलाई कायम राख्नु मुलुकको प्रमुख चुनौती भएको उल्लेख गर्दै पोखरेलले यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको बताएका छन् ।

शिक्षा र स्वास्थ्यमा सुधार नभएसम्म मुलुकको विकास तथा समृद्धि सम्भव नरहेको जिकिर गर्दै उनले यसमा सुधार आवश्यक रहेको बताए । “मुलुकमा राजनीतिक परिवर्तन आए पनि शिक्षा र स्वास्थ्यमा परिवर्तन आएको अझै अनुभूति हुन सकेको छैन”, उनले भने, “शिक्षा र स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष जोडिएको विषय हो, यसमा सबैलाई अनुभूति हुने गरी सुधार हुन जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्