मेचीनगर, १ पुस । मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा मुख्य कार्यालय रहेको सामूहिक अभियान बचत तथा ऋण सहकारी संस्थाले एक दिने नि:शुल्क आँखा तथा कान परीक्षण शिविर आइतबार सम्पन्न गरेको छ ।
साकोस १६ औँ वर्ष प्रवेश गरेको अवसरमा मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा आयोजित शिविरमा २५३ जनाको आँखा तथा ८७ जनाको कानको परीक्षण गरिएको संस्थाका अध्यक्ष जगन भट्टराईले जानकारी दिए ।
दिव्यज्योति आई एण्ड इयर केयर सेन्टर काँकडभिट्टाको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा चेकजाँचका क्रममा ३५ जनालाई मोतीविन्दुको समस्या देखिएको थियो ।
संस्थाका सचिव तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक शान्तिराम चिमरियाको अध्यक्षतामा भएको शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बचत तथा ऋण संघ कोशी प्रदेशका सदस्य वि.पि भट्टराईले गरेका थिए ।
उक्त अवसरमा मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष मधुसुदन निरौला, अर्जुनधारा नगरपालिका वडा नं.१० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाका उपाध्यक्ष टिकाराम रिजालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन उपसमिति सदस्य रेवत दाहालले गरेका थिए ।