काठमाडौं, १५ पुष । नेपाली स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा वेलिङ्टन फोनिक्सले ए–लिग वुमनमा वेस्टर्न सिड्नी वान्डेरर्सलाई ३–० ले पराजित गरेको छ। आज सम्पन्न खेलमा साम्बाले एक गोल तथा दुई असिस्ट गर्दै टोलीलाई सहज जित दिलाइन्।
यस सिजनको सुरुआतमै वेलिङ्टनमा पुगेकी साम्बाको यो अस्ट्रेलियन लिगको तेस्रो गोल हो। खेल हेर्न रंगशालामा करिब दुई हजारभन्दा बढी नेपाली समर्थक उपस्थित रहेको बताइयो।
यो जितसँगै वेलिङ्टन फोनिक्सले सात खेलबाट ११ अंक जोडेर अंकतालिकाको चौथो स्थान मजबुत बनाएको छ। साम्बा त्यसअघि फ्रान्सको शीर्ष डिभिजन क्लब ग्वेनगाम्पमा आवद्ध रहेकी थिइन्।







