Logo

सार्क र बिमस्टेकलाई बलियो बनाउने बारेमा नेपाल र श्रीलंकाबीच छलफल



काठमाडौँ, ५ पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने बारेमा छलफल भएको छ ।

बिहीबार काठमाडौँमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजाने बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताएका छन् ।

उनले छलफलमा द्विपक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसनका बारेमा छलफल भएको बताए । उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताएका हुन् ।

‘श्रीलंकाका विदेशमन्त्रीको नेपाल भ्रमणको आज दोस्रो दिन छ । यो हाम्रो ज्वाइन्ट कमिसनको बैठक भएको हुनाले यसमा द्विपक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशन जस्ता द्विपक्षीय विषयहरूमा गम्भीर र सौहार्दपूर्ण वातावरणमा छलफल भएको छ । क्षेत्रीय संगठनहरू, विशेष गरेर सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको छ । संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको छ । दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा छलफल भएको छ । परम्परागत रूपमा श्रीलंका र नेपाल दुवै मित्रराष्ट्रका रूपमा अत्यन्त घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्रका रुपमा रही आएका छन् । हाम्रो बीचमा धेरै पक्षमा सहयोगको आदानप्रदान हुँदै आएको छ र नेपालले श्रीलंकासँगको सम्बन्धलाई ठूलो महत्त्व दिँदै आएको छ,’ परराष्ट्रमन्त्री साउदले भने ।

पत्रकार सम्मेलनमा श्रीलंकाका विदेशमन्त्री अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटनलगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जाने बारेमा छलफल भएको बताए । उनले सार्क र बिमस्टेकलगायतका क्षेत्रीय कार्यक्रमहरूमा विशेष जोड दिई अघि बढ्ने बारेमा पनि छलफल भएको बताएका छन् ।

‘नेपाल र श्रीलंका धेरै नजिकका मित्र हुन् । लामो समयदेखिका साथी हुन् । हामीले धेरै कुराहरुमा एकापसमा समझदारी सहकार्य गर्दै आइरहेका छन् । अब झनै सम्बन्ध विस्तारका लागि हामी आफ्ना सहकार्य अघि बढाइरहेका छौँ । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटनलगायतका धेरै क्षेत्रमा हामीले सहकार्य गर्नेछौँ । सार्क र बिमस्टेकलगायतका क्षेत्रीय कार्यक्रमहरूमा हामीले विशेष जोड दिँदै आइरहेका छौँ । हामी नेपालमा घुम्न आउनका लागि श्रीलंकाली नागरिकहरूसँग विशेष पहल र अपिल गर्नेछु, आशा छ, नेपालले पनि श्रीलंका जानका लागि सोही पहल गर्नेछ । आजको छलफल धेरै नै राम्रो भयो । दुई देशबीचको सम्बन्ध विस्तारका बारेमा हामीले आज धेरै नै महत्त्वपूर्ण छलफल गरेका छौँ,’ श्रीलंकाली विदेशमन्त्री साब्रीले भने ।

पर्यटन प्रवर्द्धनका लागि नेपाल र श्रीलंकाबीच थप सहकार्य गर्नेबारेमा पनि छलफल भएको बताए । दुई देशबीचको सम्बन्ध विस्तारका बारेमा पनि छलफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्