Logo

साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव: अध्यक्ष ओली



काठमाडौँ, १४ जेठ । नेकपा (एमाले) ले अपाङ्गता (दुवै खुट्टा गुमाएका) भए पनि सगरमाथाको शिखर सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सम्मान गरेको छ ।

ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई खादा र पुष्पगुच्छासहित सम्मान गरेका हुन् ।

अध्यक्ष ओलीले उनको सगरमाथाको सफल आरोहण अपाङ्गता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपाली र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए ।

उनले बुढामगरको सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरेका थिए । “हरि बुढामगरको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस र सङ्कल्प गरे असम्भव देखिएका चिज पनि सम्भव हुन्छन”, उनले भने, “उहाँ अपाङ्गता भएर यताउता हिँड्न नसक्ने हुनुहुन्छ । तर सगरमाथा चढेर आउनुभयो ।”

अध्यक्ष ओलीले मगरले शारीरिक अपाङ्गता भएका मानिसको उचाइ सगरमाथामाथि थपेको भनाइ राखे । “सबैका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । यो सफलता हामी सबै नेपालीको सफलता हो । विश्वकै साहस र सङ्कल्पको सफलता हो । केही गर्छु भन्ने अठोटको सफलता हो”, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्