काठमाडौँ, ४ वैशाख । सिंहदरबारसहित विशिष्ठ कार्यालयको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् ।
‘काठमाडौँ महानगरपालिकाले काठमाडौँको सिंहदरबार क्षेत्रभित्र, राष्ट्रपतिको कार्यालयको क्षेत्र भित्र, प्रधानमन्त्रीको आवास क्षेत्र भित्रको फोहरमैला संकलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाउँ ।’ रिटमा उल्लेख छ ।
स्थानीय तहहरुको समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बेवास्ता गरेका कारण तत्काल समन्वयका लागि परमादेशको पनि माग गरिएको छ । उक्त रिटमाथि मंगलबार सुनुवाइ हुने बताइएको छ ।
संघीय सरकारले आफूसँग समन्वय नगरेको भन्दै मेयर साहले सिंहदरबार, बालुवाटार शितलनिवास लगायत विशिष्ठ कार्यालयको फोहर नउठाउन फोहर संकलन गर्ने कम्पनीलाई निर्देशन दिएपछि एक सातादेखि फोहर थुप्रिएको छ ।