सिक्किम, १७ असोज । उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा २३ सैनिक बेपत्ता भएका छन् ।
बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ । अचानक बाढी आउनुको कारण हिमताल विस्फोट भएर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।
उत्तरी सिक्किमको चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र धेरै भवन एवं संरचना बगाएर लगेको बताइएको छ । बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको हिस्सा समेत बगाएको छ ।
सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको बताइएको छ ।
बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ । सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको छ ।
सिक्किममा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । वर्षासँगै हिमताल विस्फोट भएर पनि अचानक ठूलो बाढी आएको आँकलन गरिएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार सिक्किमको लोनाक हिमताल विस्फोट भएर टिस्ता नदीमा ठूलो बाढी आएको अनुमान गरिएको छ । बाढीको थप क्षतिको विवरण आउन बाँकी छ भने, प्रभावित ठाउँहरूमा उद्धार र खोजी कार्य भइरहेको छ ।







