फाइल तस्बिर
काठमाडौँ, ७ भदौ । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभा चुनावको सिट बाँडफाँडका लागि ‘वान टु वान’ वार्ता गर्न सहमत भएका छन् ।
कार्यदल र शीर्ष नेताहरूबीच मङ्गलवार भएको छलफलमा पनि सहमति जुटाउन नसकेपछि नेताहरू वान टु वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन् ।
सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढङ्गले टुङ्गो लगाउन शीर्ष नेताहरूबीच वान टु वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, ‘हामी सहमतिको नजिक पुगेका छौँ । जतिसक्दो चाँडो टुङ्गो लगाउनुपर्नेछ । निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ । यसको सहज निकासका लागि वान टु वान कुरा पनि हुन्छ ।’
कार्यदलका संयोजक रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने अस्वस्थ भएका कारण बैठकमा उपस्थिति हुन नसकेकाले पनि सहमति जुटाउने कामलाई प्रभावित पारेको मन्त्री कार्कीको भनाइ थियो ।







