Logo

सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गति



रुपन्देही, १२ जेठ । रुपन्देहीको उत्तरी सिमानामा रहेको सिद्धार्थ राजमार्गमा निर्माणाधीन बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको कामले गति लिएको छ । कामको गति बढाउन बम विष्फोट गराउनका लागि प्राविधिक तयारी सुरु भएसँगै यसले गति लिने आयोजना कम्पनीले जनाएको छ ।

सुरुङमार्ग निर्माणको पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग २०७८ फागुनमा सम्झौता भएपनि गत वर्षबाट मात्रै कामको थालनी भएको थियो । माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङ मार्ग मध्ये हालसम्म मुख्य सुरुङमार्ग ८५ दशमलव ७ मिटर खनिएको छ । दक्षिण पोर्टलबाट ४८ दशमलव ३ मिटर सुरुङ खनिएको छ। उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान भई ३७ दशमलव ४ मिटर खनिएको छ । दक्षिण र उत्तरतर्फका दुवै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सन लगायत काम एकसाथ भइरहेको छ। १५ दशमलव ६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ।

सुरुङ खन्नका लागि विष्फोटक पदार्थ प्रयोग गरिने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापनका विषयमा शुक्रबार पूर्वाभ्यासको काम गरिएको थियो । सुरुङमार्गमा हाल स्काभेटर तथा ब्रेकरको प्रयोग गरी खन्ने काम भएको छ भने विस्फोटक पदार्थको प्रयोगले यसको गतिलाई थप बनाउने आयोजनाका इन्जिनियर सविता ज्ञवाली बताउनुहुन्छ नेपाली सेना, नेपाल प्रहरी तथा निर्माण कम्पनीका प्राविधिकहरूको उपस्थितिमा शुक्रबार आवश्यक तयारी तथा अभ्यासबारे छलफल भएको उहाँले बताउनुभयो ।

सुरुङका लागि आवश्यक विष्फोटक पदार्थ नेपाली सेनाले नै भण्डारण गरेर राखेको छ भने उनीहरूकै उपस्थितिमा काम हुने बताइएको छ । इन्जिनियर ज्ञवालीका अनुसार आइतबारदेखि विस्फोटको काम सुरु हुनेछ । दैनिक ३ पटकसम्म विस्फोट गराउने लक्ष्य राखिएको बताउँदै ज्ञवालीले यसको सङ्ख्या बढाउन सकिने बताउनुभयो । यो समयमा निश्चित दूरीमा मानवीय गतिविधिलाई रोक्नुका साथै उक्त सडक हुँदै गुड्ने सवारीका साधनलाई समेत केही समय रोक्ने तथा सुचारु गर्नका लागि ट्राफिक प्रहरीको परिचालन गरिने छ । पूर्वाभ्यासमा कायम गर्नुपर्ने दूरी, यो समयमा बज्ने साइरन, सम्भावित जोखिम लगायतका बारेमा जानकारी गराइएको थियो ।

अहिले आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी हरेक ३०० मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको छ। सात अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। आगामी आर्थिक वर्षमा करिब तीन अर्ब, २०८२/८३ का लागि दुई अर्ब र २०८३/८४ मा एक अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ।

आयोजना अन्तरर्गत जोखिमयुक्त सडकमध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायत प्रविधिमार्फत साढे दुई किलोमिटर सडक सुरक्षित बनाइने छ। ५ दिनअघि सिद्दबाबा सुरुङ मार्ग निर्माणमा नेपाल सरकारलाई प्राविधिक सहयोग गरिरहेको स्वीजरल्याण्डको पिनी ग्रुपका बिशेषज्ञहरुद्वारा योजना, प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट तथा निर्माण व्यवसायीसँग संयुक्त साइट निरीक्षण गरी प्रगति, समस्या र समाधानबारे छलफल भएको आयोजनाले जनाएको छ ।

दैनिक करिब तीन हजार सवारीसाधनको आवतजावत हुने यस सडकमा कमजोर चुरेको अग्लो भीर भएकाले बर्खामा लेदो र हिउँदमा सुक्खा पहिरो खस्ने गर्दछ। बिगत १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको प्रहरीको तथ्याङ्क छ। दुर्घटना कम गर्न लामो समयको छलफल र बहसपछि सिद्ध बाबामा सुरुङमार्ग निर्माण कार्यान्वयनमा आएको हो।

सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख राम पुकार जैसवाल सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको बताउनुहुन्छ । “सुरुङमार्ग निर्माणमा खासै अवरोध छैन। दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको छ” उहाँले भन्नुभयो ।

आयोजनाका अनुसार सुरुङमार्गको समग्र भौतिक प्रगति ११.४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत पुगेको छ। मुख्य सुरुङको दक्षिणी मुखमा दुई हजार ३०० वर्गमिटरमा भीर सुरक्षाको काम हुनुपर्नेमा ९८९ वर्ग मिटरको मात्र प्रगति भएको छ। सीएससीईसीले ‘इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ९ईपीसी०’ मोडलमा सुरुङमार्गको ठेक्का पाएको हो। सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको यो आयोजना निर्माण कम्पनीले अबको चार वर्षभित्र सुरुङमार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने छ। आयोजनाका अनुसार बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त स्थानमा दुई लेनको सडक बनाइने छ। सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइनेछन्। यसले सडकमाथिबाट खस्ने ढुङ्गालाई सीधै तल झार्नेछ। यसरी कुल तीन किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ। सुरुङ मार्गका तीन स्थानमा खुला स्थान राखिनेछ। आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम सञ्चालन गर्न सहज हुनेछ।

यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्छन्

प्रतिक्रिया दिनुहोस्