अमेरिका, २७ कात्तिक । एउटा महत्त्वपूर्ण राज्य नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ ।
तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले डोनल्ड ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवार एडम ल्याक्सल्टलाई पराजित गरिन् ।
मास्टो ६ वर्ष अघि अमेरिकी सिनेटमा चुनिने पहिलो ल्याटिन महिला बनेकी थिइन् । डेमोक्र्याटहरूसँग अब ५० सिट रहेको छ भने रिपब्लिकनहरूसँग ४९ सिट छ ।
जोर्जियामा डिसेम्बर महिनामा फेरी हुन लागेको चुनावले बाँकी एउटा सिट तय गर्नेछ । यदि सिनेटमा दुवै दलको बराबरीको अवस्था आएको खण्डमा उपराष्ट्रपति कमला ह्यारिसलाई मतदानको अधिकार हुनेछ ।
बीबीसीका वासिङ्टन संवाददाता भन्छन् सर्वेक्षणहरूले कमजोर व्यक्तिगत समर्थन रहेको भनी देखाएका र ४० वर्ष यताकै ठूलो मूल्यवृद्धि नियन्त्रणका लागि सङ्घर्ष गरिरहेका राष्ट्रपति बाइडनका लागि यो महत्त्वपूर्ण उपलब्धि हो ।







