
काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुगेका छन्। जियानचाओ नेतृत्वको आठ सदस्यीय टोली आइतबार बिहान चाइना एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । सो क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् ।
लिउ विमानस्थलबाट द्वारिकाज होटलततर्फ गएका छन् । त्यहाँ आराम गरेर बेलुकीबाट उनले भेटवार्ताको सुरुवात गर्ने कूटनीतिक स्रोतले बताएकाे छ । उनले आज बेलुकी पराष्ट्रमन्त्री डा. नारायण खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए । साथै विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणको लागि जियानचाओले नेपाल रोज्नुलाई पनि अर्थपूर्ण मानिएको छ ।







