Logo

सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला



चितवन, १ साउन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ ।

उहाँहरु दुवैको शव घटनास्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उहाँहरुका परिवारले गर्नु भएको हो ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परवाह नगरपालिका वडा नम्बर ६का ३५ बर्षिय किशोर कुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ बर्षिय ऋषि कुमार सिंह रहनु भएको थियो ।

अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने नौ वटा शवको पहिचान भएको छ र आठ वटा शवको पहिचान हुन बाँकी रहेको छ । अझै ४५ यात्रुको अवस्था अज्ञात रहेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जस मध्ये तीन जनाले ज्यान बचाउन सफल हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्