चितवन, ३० असार । गत शुक्रबार बिहान नारायणघाट–मुग्लिन सडकखण्ड अन्गर्तत सिमलतालबाट लेदोसहित पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुईजनाको परिचय खुल्न बाँकी छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुईवटा बस र बेपत्ता यात्रुको आज पनि खोजी भइरहेको छ । खोजीकै क्रममा सिमलतालभन्दा ४० किलोमिटर तल भरतपुर–२८ गोलाघाटनजिकै आज एउटा शव भेटिएको छ ।
नदीको टापुमा एउटा शव भेटिएको तर परिचय नखुलेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । हिजो एक भारतीयसहित तीन जनाको शव भेटिएर सनाखत भइसकेको छ ।